महिला टी-२० सिरिजमा नेपाल लगातार पराजित, फाइनल पुग्न असफल
काठमाडौं । चार देश सम्मिलित महिला टी-२० सिरिजको दोस्रो खेलमा पनि पराजित भएको छ । बुधबार तान्जानियासँग हारेको नेपाली टोली बिहीबार हङकङसँग पनि पराजित भएपछि फाइनल पुग्ने बाटो बन्द भएको हो ।
घरेलु टिम हङकङसँग नेपाल ९ विकेटले पराजित भएको छ । नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने फाइनलमा पुगेको छ । तान्जानिया पनि दुई जितसहित फाइनलमा पुगिसकेको छ । अन्तिम खेलअघि नै नेपाल र जापान भने फाइनलमा पुग्न असफल भए ।
दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध निकै कमजोर ब्याटिङ गरेको छ । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा १ विकेटमात्र गुमाएर पूरा गर्यो ।
हङकङका लागि नतासा माइल्सले नटआउट ३० रन र सान्जिन शाहजादले नटआउट २० रन जोडे । त्यसअघि मारिको हिललाई कप्तान इन्दु बर्माले ५ रनमा रन आउट गरेकी थिइन् ।
हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमै अलआउट भयो । नेपालका सुरूवाती ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो ओभरमा ओपनर पूजा महतो ४ रनमा रन आउट भएपछि नेपालको लगातार विकेट गएको थियो ।
सम्झना खड्का, विन्दू रावल र कञ्चन श्रेष्ठ समान १-१ रनमा आउट भए । रूबिना क्षेत्रीले सर्वाधिक २५ रनको योगदान गरिन् । अस्मिना कर्माचार्य शून्य र संगिता राई २ रनमा आउट भए । रोमा थापा ७ रनमा नटआउट रहिन् । बलिङतर्फ हङकङकी इक्रा सहरले ३ तथा रुचिताले २ विकेट लिइन् ।
हङकङ, तान्जानिया, जापान र नेपाल सम्मिलित महिला टी-२० सिरिजमा बुधबार तान्जानियासँग नेपाल २७ रनले पराजित भएको थियो । नेपालले अब लिगको अन्तिम खेल जापानसँग शनिबार खेल्नेछ ।
शीर्ष २ मा रहने टिमले उपाधिका लागि खेल्नेछन् भने बाँकी २ टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले लिग चरणको खेलमा जापानसँग खेलेपछि फेरि जापानसँगै तेस्रो स्थानका लागि खेल्नेछ ।