उद्योग वाणिज्य महासंघले गर्यो ग्रिन ग्रोथ एड्भाइजरी सेवाको स्थापना
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवा स्थापना गरेको छ ।
महासंघले जलवायु परिर्वतनले परेको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवाको शुरुवात गरेको हो ।
जलवायु परिर्वतन ल्याउन नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको विनाश भने भोग्नुपरेको महासंघको भनाइ छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एड्भाइजरी सेवा उद्घाटन कार्यक्रममा पछिल्लो समय जलवायु परिवर्तन विश्वले चासोका साथ लिएको बताए ।
नेपालको परिवेशमा जलवायु परिवर्तनले पारेको असरको विषय धेरै महत्वपूर्ण रहेको उनको भनाइ छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालमा आएर हिमालयहरुको बेस क्यामको अवलोकन गर्नु जलवायु परिवर्तनले नेपालमा ठूलो असर गरेको संकेत भएको उनको भनाइ छ ।
निजी क्षेत्रले विगतमा आर्थिक विषयमा मात्रै काम गरे पनि अब आर्थिक आम्दानीमा मात्रै सीमित नभएर वातावरणीय प्रभावलाई पनि प्राथमिकताका साथसँगै लैजान आवश्यक भएको उनले बताए ।
विकास निर्माणका कामहरुमा पनि कम क्षति हुने गरेर गर्न आवश्यक रहेको उनको भनाइ छ ।
सरकारका वातावरणीय क्षेत्रका काम गर्ने निकायहरुले समग्र सबै क्षेत्रलाई समेटेर नीतिहरु बन्नुपर्ने भएपनि आफ्नो संस्थाको मात्रै हित हुनेगरी नीतिहरु बन्ने गरेको उनले बताए ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले निजी क्षेत्रको दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्ने कुरामा महत्वपूर्ण भूमिका रहेको बताए ।