बालापनको दसैं सम्झिँदा
दसैं नजिँकै आउँदा मलाई आफ्नो बालापनको याद झल्झली आउँछ । अहिलेको जस्तो दसैं मनाउन सजिलो र छिटोछरितो थिएन त्यसबेला । अहिले पो दसैंका लागि सबै सामान एकै स्थानमा पाइन्छ । हरेक चिज बजारमा पाइन्छ । खोजी-खोजी रोजी-रोजी पाइन्छ ।
अब म मेरो बालापनको यादगार क्षणहरु यहाँहरुमाझ साझा गर्न चाहन्छु ।
कोशी प्रदेशको संखुवासभामा पर्छ मेरो घर । घटस्थापनादेखि स्कुल बिदा हुन्थ्यो । हाँस्दै-खेल्दै साथीहरुसँग रमाइलो गरिन्थ्यो । अब त स्कुल बिदा भइहाल्यो, पिङ खेल्नुपर्छ, टीका लगाउनुपर्छ भन्दै गाउँ डुलिन्थ्यो ।
‘ओइ अनिसे ! तँ के किन्छन् दसैंमा ?’
‘अनि तँ रामे नि ?’
‘म त पाइन्ट र सर्ट किन्छु ।’ अनिशले भन्थ्यो ।
‘म त स्विटर किन्न लगाउँछु,’ रामले भन्थ्यो ।
‘अनि तँ सविने चाहिँ के किन्छ्स् नि ?’ रामेले सोध्थ्यो ।
‘मलाई त हजुरबुवाले शुक्रबारे हटियामा अकासे सर्ट र निलो पाइन्ट किनिदिने भन्नुभएको छ,’ म भन्थेँ ।
नयाँ लुगा किनेपछि त्यही लगाएर सुतिन्थ्यो । गाउँमा सबैलाई मेरो नयाँ लुगा भन्दै देखाएर फुरुक-फुरुक गरेर हिँड्दाको मजा बेग्लै हुन्थ्यो ।
खेतमा झुलिरहेका धान, काल्लाभरि खरुकी फुलेको, बारीका पाटाभरि कोदो फल्दै गरेको, सयपत्री फुल्दै गरेको । आहा ! कति रमाइलो हुन्थ्यो त्यसबेला । अनि खुलेर नीलो देखिएको गगन । आहा ! सझिँदा पनि मन आनन्दित हुन्छ ।
शनिबार गाउँको स्कुलमा बैठक बस्ने गर्थ्यो । समूह थियो । समूहमा पैसा जम्मा गरिन्थ्यो । गाउँका समस्या र सरसहयोगबारे छलफल गरिन्थ्यो । दसैं आइसक्यो, गाउँघर कुवा चैतारो, पाटिपौवा सफा गर्ने कुराकानी हुन्थ्यो ।
खाना खाएर सबै परिवारका एक-एक भेला हुन्थ्यौं । हाम्रो घर कुवा छेउ भएकाले पहिला काभ्रेकुवाबाटै सफा गर्न सुरु गरिन्थ्यो । गाउँको एक मात्र पुरानो र ढुंगाले बनाएको काभ्रेकुवालाई हाम्रो गाउँकाले मात्र नभएर अन्य गाउँकाले समेत चिन्थे । गाउँका सबैजसो मानिस काभ्रेकुवाकै पानीमा निर्भर रहन्थे ।
लुगा धुन, भान्सा गर्न र गाईभैंसीलाई खुवाउन पौडेल गाउँबाट पानी ल्याए पनि पिउने पानीका लागि भने काभ्रेकुवामै भर पर्नुपर्थ्यो । गाउँघरमा क्यासेटमा गीत बजाउँदा र नाच्दा बेग्लै खुसी मिल्थ्यो । गाउँमा एउटा मात्र दोकान थियो । त्यहाँ साँझपख सबैजना भेला भएर रमाइला-रमाइला कुराकानी गरिन्थ्यो । हामी साना-साना केटाकेटी झन् चाख दिएर सुन्थ्यौं । पिङ हाल्ने, पिङका लागि बाबियो खोज्ने, बास संकलन गर्ने आदि इत्यादि कुराकानी हुन्थ्यो । विस्तारै सहर र विदेश गएका आफन्त, दाजुभाइ गाउँ फर्किन थाल्थे ।
रातो माटो लिन जानेहरुको लर्को नै लाग्थ्यो । म पनि फुरुक्क हुँदै ममीसँग घर पोत्ने रातो माटो लिन ढडेनतिर जान्थेँ । हाम्रो घर रातो माटोले पोतेको थियो । रातै माटो छ्यापेर रङ लगाउने गरिन्थ्यो । गाउँमा कसैकसैले भने कमेरो माटोले घर पोत्ने अनि रङ लगाउने गर्थे ।
रातो माटोले घरको भित्ता अनि पर्खाल पोतिन्थ्यो । खम्बा र झ्यालमा चाहिँ रेडियोको ब्याट्री फुटाएर कालो लगाउने गरिन्थ्यो । अनि सिमीको हरियो पातको झोल बनाएर भित्तामा बुट्टा बनाइन्थ्यो । हाम्रो घरमा संयुक्त परिवार बस्ने भएको हुनाले दसैंका बेला घरमै खसी काट्ने गरिन्थ्यो । कहिलेकाहिँ छिमेकीसँग मिलेर मासु बाँडफाँड गरिन्थ्यो । त्यसबेला दसैंमा खसीको चिची खाने, कानचाहिँ म खान्छु है भन्दै पोलेर कान खाँदा साह्रै रमाइलो हुन्थ्यो ।
दसैंका लागि भनेर कान्लाभरि घाँस साँचिन्थ्यो । डाले घाँस जोगाएर राखिएको हुन्थ्यो । टाँकी, वर,अम्रिसो, बडहर आदि घाँस घरनजिकै साँचेर राखिन्थ्यो । बन्सो काट्दै बस्तुभाउलाई दिने गरिन्थ्यो । कटेराभरि पराल राखिन्थ्यो । टीकाको दिनलाई भनेर एक-दुई दिनअघि नै चार-पाँच भारी घाँस साँचेर राख्ने गरिन्थ्यो ।
दसैंका लागि जर्नेली धान उमालेर ढिकीकै छेउमा राखिन्थ्यो । फुटेको धान ढिकीमा कुट्दा-कुट्दै खाइहालुँ जस्तो बास्ना आउँथ्यो । ढिकीमा तिल कुटेर रातो खुर्सानी, कागती र अदुवा हालेर बनाएको धुलो अचार अझै मुखमै झुन्डिएको छ ।
दसैं लागेपछि गाउँमा केरा जोहो गर्ने चलन थियो । आफ्नै घरमा हुनेले थुन्सेमा सिरिस हालेर केरा पकाउँथे । केरा पाक्दै जाँदा मगमग आउने बास्ना अझै नाकमा ताजै छ । दसैंको अन्य खानेकुरा किन्न शुक्रबारे हटिया चैनपुर जाने गरिन्थ्यो । हटियामा ताजा फलफूल, तरकारी, मिठाइ, लत्ताकपडा सबै पाइन्थ्यो । अहिलेको भाटभटेनी सुपरमार्केट जस्तै थियो हाम्रो हटिया ।
फूलपातीको दिन गाउँमा पिङ हाल्ने काम हुन्थ्यो । पिङका लागि बाबियो लिन लाँकुरी डाँडासम्म पुग्नुपर्थ्यो । बाबियोका लागि पैसा उठाउने र ल्याएर सुकाएपछि डोरी बाट्ने काममा औधी रमाइलो हुन्थ्यो । गाउँकै स्कुलमा पिङ हाल्ने काम सबै मिलेर गरिन्थ्यो । कोही गीत गाउने, कोही नाच्दै रमाइलो गर्ने गर्दा साह्रै मज्जा हुन्थ्यो ।
त्यो बालापान अहिले सम्झिदा आँखा रसाएर आउँछ । त्यो बालापनमा फर्किन पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ । राति अबेरसम्म पिङमा झुत्ती खेलेको अहिले जस्तो लाग्छ । लिंगेपिङ फर्कने गरी आकाशमा पुगिन्थ्यो । दोहोरी पिङ खेल्दा पनि त्यति नै माथि पुगिन्थ्यो । पिङमै मादल बजाएर नाचगान पनि हुन्थ्यो ।
टीकाको दिन घरमा टीका लगाएर पैसा गनिथ्यो । ५ र १० रुपैयाँका नोट कति गन्नु ? गाउँतिर जाँदा पनि तिनै नोट थपिन्थे । टीका लगाएपछि जुठो मुख गरेरमात्र जानुपर्छ है भन्नुहुन्थ्यो । हजुरबुवा काकाकाकीकहाँ टीका लगाउन चैनपुर बजारतिर गइन्थ्यो । हजुरबुवा पण्डित भएकाले हजुरबुवाको हातबात टीका लगाउनेहरु पनि धेरै हुन्थे । हजुरआमाको मावली चैनपुर बजारमा भएकाले त्यहाँ पनि टीका थाप्न जान्थ्यौं ।
एकादशीको दिन मावल जाने गरिन्थ्यो । मावल जान एक दिन पुरै लाग्थ्यो । मोटर बाटो बनिनसकेको हुनाले हिँडेरै जानुपर्थ्यो । मावल मादी मुल्खर्क हो । बिहान हिँडेपछि साँझमात्र मावल पुगिन्थ्यो । मावलमा बेग्लै किसिमको रमाइलो हुन्थियो । मावल लेकमा भएकाले लहरे आँप खान पाइन्थ्यो । बोटमा लटरम्मै फलेको हुन्थ्यो । इस्कुस यति मिठो हुन्थ्यो कि जति खाए पनि मन भरिँदैन थियो । तरकारी खाए उस्तै मिठो, उसिने खाए उस्तै मिठो । मावलबाट फर्किंदा कोसेली इस्कुस र चुचे करेला लिएर आइन्थ्यो ।
यस्तै तितामिठा दसैंको यादगार पल बिताएर आइयो । अहिले दसैंमा चाडबाडभन्दा पनि विकृति फैलिएको हो कि जस्तो लाग्छ । चाडबाडको नाममा जुवातास खेल्ने, अरुको देखासिकी गर्ने, फलानोले त यस्तो पो लुगा लगाएछ म त्योभन्दा राम्रो अनि महँगो लुगा लगाउँछु भन्ने होडबाजी चलेको छ ।
दसैंको शुभकामना साँट्ने र खुसियाली मनाउनेभन्दा पनि अहिले कसले छिटो फेसबुकमा फोटो हाल्ने र टिकटक भिडियो बनाउने भनेर प्रतिस्पर्धा हुने गरेको छ । आफन्त र पाहुना आउँदासमेत मोबाइल फोनमै घोरिएर बसेको देखिन्छ । यस्तै चल्दै गयो भने दसैंको महत्त्व घट्दै जान्छ । आफ्ना सन्तान प्राय: बिदेसिएका छन् । युवा सबै विदेश पलायन भइसके । आमाबुवाको हात खाली हुन्छ । बेरोजगार र आर्थिक मन्दीको कारणले नेपाली बिदेसिन बाध्य छन् । यस्तै-यस्तै कुराले गर्दा चाडबाड मनाउने पनि वृद्ध र बालबच्चामात्र हुन्छन् अचेल गाउँघरमा ।