बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ
विराटनगर । महिला अनुयायीमाथि जबरुजस्ती करणीको मुद्दामा जिल्ला अदालत सुनसरीले सिद्ध बाबा भनिने कृष्णदास गिरीलाई सफाइ दिएको छ ।
जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बुधबार दासलाई सफाइ दिएको हो । गिरीलाई यसअघि पनि २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासबाट सफाइ पाएका थिए ।
त्यसबेला उच्च अदालत विराटनगरले गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलालाई बदर गरिदिएको थियो । उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको फैसला बदर गरेको हो । उच्च अदालतले बदर गरेपछि सो मुद्दा पुन: जिल्लामा फर्किएको थियो ।
इजलासले पीडित र पीडक पक्षबीच भएको भ्वाइस कलको परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न तथा पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाण बुझेर पुन फैसला गर्न आदेश दिएको थियो ।
२०७६ कात्तिक ४ गते राति सिद्ध बाबाले जबर्जस्ती करणी गरेको पीडितले दाबी गरेकी छन् । उनले २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् ।
जाहेरी पछि गिरीलाई २०७६ पुस १४ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । तर, २०७६ माघ ९ मा उच्च अदालत विराटनगरका तत्कालीन मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दियो ।
२०७७ मंसिर २२ मा जिल्ला अदालत सुनसरीले गिरीलाई सहमतिमा करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो । जिल्लाको फैसलामा भनिएको थियो, ‘जाहेरवाली र प्रतिवादीबीच आदानप्रदान भएका म्यासेजबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुर कायम गर्न मिल्ने देखिएन ।’