विकास खर्च बढाउने दबाब, गौरवका आयोजनाको ठेक्का अवधि ३ वर्ष बनाइँदै
काठमाडौं । काठमाडौं महानगरपालिको गत वर्षको पुँजीगत खर्च निकै कम देखियो । काठमाडौं महानगरपालिकाले आव २०७९/०८० मा १२ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको थियो ।
महानगरपालिकाले सार्वजनिक रुपमा नस्विकारे पनि विभिन्न आयोजनाको ठेक्का प्रक्रियामा लैजान नै कठिनाइ भएकाले गत आवमा महानगरपालिकाको पुँजीगत खर्च निकै न्यून देखिएको महानगर स्रोत बताउँछ ।
स्रोतका अनुसार ठेक्का आह्वान गर्ने, बोलपत्र परेपछि तिनीहरुको मूल्यांकन गर्ने प्रक्रियामा नै ढिलाइ हुने र कर्मचारीबाट कार्य सम्पादनमा हुने गैरजिम्मेवारीपन जस्ता कारणले पाइपलाइनमा रहेका आयोजनाको पनि ठेक्का लगाउन नसकिएको र पुँजीगत खर्च पनि न्यून देखिएको हो ।
गत आर्थिक वर्षमा पुँजीगत खर्चमा न्युन मात्रै प्रगति हासिल गरेको महानगरपालिकाले यो आर्थिक वर्षको बजेटमा केही महत्वकांक्षी आयोजना अघि सारेको छ, जसमध्ये गौरवका आयोजना र स्वर्णिम आयोजना प्रमुख छन् । महानगरको चालु आर्थिक वर्षको बजेटमा गौरवका आयोजना र स्वर्णिम आयोजनाका लागि ५ अर्ब ८० करोड बजेट विनियोजन गरिएको छ ।
स्वर्णिम आयोजना महानगरअन्तर्गतकै विभागहरुबाट सञ्चालन हुने आयोजना छन् । गौरवका आयोजनाका लागि भने महानगरपालिकाले ठेक्का आह्वान गर्ने र सार्वजनिक खरिदकै नियमअनुसार अघि बढ्नुपर्नेछ ।
तीन अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको गौरवका आयोजनाका लागि महानगरपालिकाले ठेक्का प्रक्रियामा धेरै समय खर्च नहोस् र कार्य सम्पादनको कुरामा पनि ढिलाइ नहोस् भनेर कतिपय आयोजनाका लागि एक साथ बहुवर्षीय ठेक्का लगाउने तयारी गरेको छ ।
गौरवको आयोजना ‘धुलोरहित सडक’को ठेक्का तीन वर्षलाई
गौरवका आयोजनाअन्तर्गत रहेको ‘धुलोरहित सडक’ आयोजनालाई एकै पटक तीन वर्षका लागि ठेक्का लगाउने तयारी महानगरले गरेको छ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्सालका अनुसार ठेक्का लगाउँदा हुने प्रक्रियागत समयलाई कम गर्नका लागि यस्तो अवधारणा ल्याइएको हो । उनले भने, ‘हामीले ठेक्का लगाउँदा ६ महिनाको समय प्रक्रियामा नै खर्च हुन्छ । त्यसलाई कम गर्नका लागि यस्तो अवधारणा ल्याएका हौं । यसो गर्दा तीन वर्षमा १८ महिना बच्छ । एकै पटकमा बहुवर्षे ठेक्का लगाउन सकियो भने काम पनि भइरहने र प्रक्रियागत समय पनि धेरै खर्च नहुने भएकाले यस्तो अवधारणा ल्याएका हौं ।’
महानगरका सबै गौरवका आयोजना तीन वर्षका लागि बनाइएका आयोजना छन् । यीमध्ये कतिपय आयोजना ठेक्का लागेमा केही महिनामा नै सम्पन्न हुने किसिमका छन् भने कतिपयका लागि केही समय बढी लाग्ने पनि रहेको लम्साल बताउँछन् ।
स्वर्णिम योजनाहरु भने सधैं चल्ने र स्वचालित रुपमा चल्ने आयोजना हो । स्वर्णिम योजनाहरु बजेटमा छुट्याएर महानगरले आफ्नै स्रोतबाट काम गर्ने योजना रहेको लम्सालले बताए । यसका लागि भने कुनै पनि ठेक्का लगाउने भन्ने हुँदैन ।
‘गौरवका आयोजनाअन्तर्गतको धुलोरहित सडक आयोजनालाई अहिले हामीले तीन वर्षका लागि एकसाथ ठेक्का लगाउने तयारी गरेका छौं,’ उनले भने, ‘बर्सेनि एक अर्बको लागत गरेर तीन वर्षका लागि तीन अर्बको बहुवर्षे ठेक्का लगाउने तयारी भइरहेको छ । १० वटा गौरवका आयोजनामध्ये धुलोरहित सडक आयोजनालाई बहुवर्षे ठेक्का लगाउने गरी तीन अर्ब बजेट छुट्याएका छौं ।’
ठेक्का प्रक्रियामा जाने समयबाहेक बजेट पनि कहिल्यै पनि पूर्णरुपमा विनियोजन गर्न नपाउने र परिचालन गर्नै नपाउने अवस्थालाई हटाउनका लागि यो अवधारणा महानगरले अघि सारेको हो ।
‘गौरवका आयोजनामा अन्य योजना पनि तीन वर्ष जानेखालका छन् तर तिनीहरु दुई तीन महिनामा नै सकिने योजना हुन्,’ उनले भने, ‘अवस्था हेरेर अरु आयोजनालाई पनि बहुवर्षे ठेक्का लगाउने गरी काम हुन्छ । अहिले धुलोरहित सडकका लागि ठेक्का प्रक्रियामा गइसकेका छौं । केही दिनमा नै बोलपत्र आह्वान हुन्छ ।’
गत वर्ष महानगरले आफ्ना योजनाको ठेक्का लगाउनमा नै ढिलाइ भएको थियो । पूर्वाधारसम्बन्धी कामको ठेक्का पनि केही महिनामा नै पूरा गर्ने उनले बताए । गत वर्ष जेठमा मात्रै पूर्वाधारसम्बन्धी कामको ठेक्का लागेको थियो ।
यसपटक भने त्यस्ता कामलाई पनि भदौभित्रै ठेक्का लगाउने तयारी महानगरले गरेको छ । लम्साल भन्छन्, ‘हामीले गौरवका आयोजनालाई यो महिनाभित्रै ठेक्का लगाउने तयारी गरेका छौं । पूर्वाधारका अन्य योजनाको पनि ठेक्का यो महिनाभित्रमा नै लगाउने तयारी भएको छ ।’