चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने कुरा उठाउनेछु: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आगामी चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताएका हुन् ।

चीन भ्रमणबारे सांसद उदयशम्शेर राणा र ऐनबहादुर शाहीले प्रधानमन्त्रीलाई चीन भ्रमणबारे प्रश्न गरेका थिए ।

‘चीन भ्रमणका क्रममा नाम्चे लाग्ना नाका खोल्ने विषयमा छलफल हुने योजना छ कि छैन ?’ भन्दै मुगुका सांसद शाहीले प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले भने, ‘आसन्न चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुरा हुनेछ । मुगुको नाम्चे लाग्ना नाका खोल्नेबारे कुरा उठाउने करिब निश्चित छ ।’ प्रधानमन्त्री दाहालले सरकारले रारालगायतका पर्यटकीय क्षेत्रको विकासका लागि पनि प्राथमिकता दिने बताए । प्रधानमन्त्री दाहाल असोज पहिलो साता चीन भ्रमणमा जाँदैछन् ।


क्लिकमान्डु