मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाबाट सम्पर्कविहीन भएको आशंका
काठमाडौं । पाँच विदेशी यात्रु सवार मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको जिल्लाको लिखुपिके गाउँपालिकामा सम्पर्कविहीन भएको छ ।
गाउँपालिका-५ स्थित लाम्जुरा पासबाट हेलिकप्टर सम्पर्कविहीन भएको हो । उक्त क्षेत्रमा बस्ती नरहेको र केही पर्यटक होटलहरु रहेको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् ।
सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पास हवाई जहाजहरू लुक्ला विमानस्थल छिर्नेद्वार हो ।
हेलिकप्टर उडान भरेको ८ मिनेटमै सम्पर्कविहीन भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रताप तिवारीका अनुसार मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको हो ।
तिवारीले लाम्जुरा पासमा अन्तिमपटक हेलिकप्टर सम्पर्कमा आएको जानकारी दिए ।
हराएको कल साइन ९ एन एन एमभी हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्दार समन्वय केन्द्रले मनाङ एयरसँग समन्वय गर्दै हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलि पठाएको हो ।
हेलिकप्टरमा क्याप्टेन सहित ६ जना सवार थिए ।