मुर्रा राँगाबाट वार्षिक कम्तीमा १.५ लाख डोज वीर्य उत्पादन हुने, भैंसीको दुध उत्पादन उल्लेख्य वृद्धि हुने
काठमाडौं । मुर्रा राँगोबाट वार्षिक कम्तीमा १.५ लाख डोज वीर्य उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअनुसार भारतबाट सहायता स्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ वटा राँगाहरुवाट ३ वर्षपश्चात् वार्षिक कम्तीमा १.५ लाख डोज वीर्य उत्पादन हुने जनाएको छ ।
उक्त वीर्यबाट कम्तीमा १ लाख भैसीमा कृत्रिम गर्भाधान गराइ नश्ल सुधारमार्फत भैंसीको दुध उत्पादनमा उल्लेख्य वृद्धि हुने मन्त्रालयले अपेक्षा गरेको छ ।
सन् २०१८ मा नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयानुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक/अनौपचारिक तवरवाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलव्ध गराउन अनुरोध भएको थियो ।
जुन २०२० भारतको मिनिष्ट्री अफ एनिमल हस्बेन्डरीलाई उच्च प्रजनन मान भएका विउ राँगो आपूर्तिका लागि औपचारिक रुपमा नेपाल सरकारबाट प्रस्ताव गरिएको थियो ।
नेपालले निर्धारण गरेको प्राविधिक मापदण्ड बमोजिमको १५ वटा उच्च नश्लका मुर्रा जातका पडाहरु उपलब्ध गराउन सम्वद्ध भारतीय पक्षबात प्रतिवद्धता प्राप्त भएको छ मन्त्रालयले जनाएको छ ।
उच्च प्रजनन मानका १५ वटा मुर्रा राँगो नेपाल सरकारलाई वस्तुगत सहायता स्वरूप नि:शुल्क उपलब्ध हुनेछ । यसमा प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरु छिट्टै भारतस्थित सम्वन्धित सरकारी फार्ममा जाने तयारी भइरहेको छ । प्राविधिक पक्ष टुङ्गिएपश्चात भारतीय पक्षबाट नेपालको भन्सार नाकासम्म ती उच्च प्रजनन मानका मुर्रा राँगाहरु उपलब्ध हुनेछन् ।
राँगाहरुलाइ पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरु पोखरा, नेपालगञ्ज र लाहानमा व्यवस्थापन गरि उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलब्ध गराइने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।