कुन ठेकेदारको कमाइ कति ? १३ वटाले एकवर्षमा १२ अर्ब आम्दानी गरे, कर्जाका लागि ५९ अर्ब रेटिङ



काठमाडौं । सन् २०२१ मा देशभरका निर्माण व्यवसायीमध्ये १३ वटा निर्माण व्यवसायी कम्पनीले एक वर्षमा १२ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । रेटिङ एजेन्सीमार्फत् आम्दानी गरेको विवरण सार्वजनिक गरेको १३ कम्पनीले गत वर्षमा १२ अर्ब २३ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

हरेकवर्ष नेपालको विकास खर्चको बजेट बढ्दो क्रममा छ । तर, विकास खर्चको कार्यान्वयन पक्ष भने निकै कमजोर रहेको छ । सरकारले वार्षिक ३ खर्बभन्दा बढी विकास खर्चमा बजेट विनियोजन गर्दै आएको छ । उक्त बजेट विनियोजन भए पनि खर्चको पाटो कमजोर हुँदा अपेक्षाअनुसार विकास हुन सकेको छैन ।

देशभर साना, मध्यम र ठूला निर्माण व्यवसायी हजारौंको संख्यामा छन् । उक्त हजारौं संख्यामा रहेका व्यवसायीहरूले देशका ३५ सयभन्दा बढी आयोजनामा काम गर्दै आएका छन् ।

त्यस्तै, देशभर रहेकामध्ये रेटिङ एजेन्सीमार्फत् आफ्नो विवरण पेश गरी रेटिङ गराएको १३ कम्पनीले गत वर्ष ८ करोडदेखि ३ अर्ब रुपैयाँसम्म आम्दानी गरेका छन् ।

टुन्डी कन्स्ट्रक्सन प्रालिः सन् २०२१ मा रेटिङ एजेन्सीमार्फत् आम्दानी गरेको विवरण पेश गरेको निर्माण व्यवसायी कम्पनीमध्ये सबैभन्दा बढी टुन्डी कन्स्ट्रकसन प्रालिले गरेको छ । नेपालको ठूलो र निर्माण क्षेत्रको खेलाडीको रुपमा स्थापित यस कम्पनीले सन् २०२१ मा एकलरुपमा काम गरेका आयोजनाबाट ३ अर्ब १३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, कम्पनीले संयुक्तरुपमा सञ्चालित आयोजनाबाट भने ६ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको सन् २०२१ मा ३१ प्रतिशतले आम्दानी बढेको जनाएको छ ।

सन् १९८४ बाट निर्माण क्षेत्रमा आबद्ध यस कम्पनीले खानेपानी आयोजना, भवन निर्माण, ढल व्यवस्थापन र अन्य विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।

रिसिप्रसाद सुवेदीको २८ प्रतिशत, उनकी श्रीमती लक्ष्मीदेवी सुवेदीको १२ प्रतिशत, छोरा सुशिल सुवेदीको १८ प्रतिशत, आनन्दप्रसाद सुवेदीको १८ प्रतिशत, सुमन सुवेदीको १८ प्रतितश र मन्जु सुवेदीको ६ प्रतिशत सेयर रहेको यो कम्पनी क वर्ग इजाजत प्राप्त कम्पनी हो ।

ठूला-ठूला आयोजनामा ठेक्का गर्न सक्ने क्षमता रहेको यस कम्पनीसँग सन् २०२१ को नोभेम्बरसम्ममा जोइन्ट भेन्चरसहित १८ अर्ब २० करोड रुपैयाँको ठेक्का कार्यान्वयन नभएको अवस्था रहेको जनाएको छ । जसमा कम्पनीले अझै ८ अर्ब रुपैयाँ रकम लिन बाँकी रहेको उल्लेख छ ।

कम्पनीले आम्दानी गरेकोमा ३७ प्रतिशत सडक आयोजनाबाट हुने गरेको जनाएको छ । सन् २०२१ को नोभेम्बरसम्ममा अझै कम्पनीसँग २४ अर्ब बराबरको ठेक्का लिन गर्न सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ ।

बानियाँ निर्माण सेवा प्रालिः सन् २०२१ मा टुन्डीपछि सबैभन्दा बढी बानियाँ निर्माण सेवाले बढी आम्दानी गरेको छ । क वर्गको इजाजत प्राप्त कम्पनीले सन् २०२१ मा २ अर्ब २६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ९९ करोड २० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सडक निर्माण, सिभिल कन्स्ट्रक्सन, पुल निर्माण, सिंचाइको काम र नदीको ट्रेनिङ दिने काम गर्दै आएको कम्पनीको आम्दानी सन् २०२१ मा १२८ प्रतिशतले बढेको जनाएको छ । सन् २०२० मा कोरोना महामारीका कारण कम्पनीको आम्दानी २७ प्रतिशतले घटेको थियो । इन्द्रबहादुर बानियाँ अध्यक्ष रहेको यस कम्पनीले सन् २०२१ मा २१.३२ प्रतिशत नाफा कमाएको छ ।

त्यसैगरी कम्पनीसँग २०२२ को मार्चसम्ममा १ अर्ब ८८ करोड ८० लाख रुपैयाँको ठेक्का कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ ।

हिमालय बिल्डर्स एण्ड इन्जिनियर प्रालिः आवासीय र व्यवसायिक भवन बनाउने हिमाल बिउल्डर्स एण्ड इन्जिनियर प्रालिले सन् २०२१ मा १ अर्ब ५३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ४९ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

क वर्ग इजाजत प्राप्त यस कम्पनीले व्यवसायिक भवन तथा अग्ला भवन, डिजाइन तथा निर्माणको ठेक्का, आकस्किम र्ममतसम्भार, नवीकरण, विशेषज्ञ नवीकरण र पुर्नस्थापना, परिवर्तन र नयाँ निर्माणको कार्य गर्दै आएका छन् ।
जनकदत्त खनाल प्रबन्ध निर्देशक रहेको कम्पनीले सन् १९८५ देखि निरन्तर यस क्षेत्रमा आबद्ध भई आम्दानी गर्दै आएको जनाएको छ । कम्पनीले विशेषगरी निजी क्षेत्रलाई जोड दिँदै काम गर्दै आएका छन् । त्यसैले, निजी क्षेत्रको आधारमा कम्पनीको आम्दानी हुने उल्लेख छ ।

साथै, कम्पनीसँग २०२२ को जनवरीमा २ अर्ब ४० करोड रुपैयाँको आयोजना कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ ।

राजेन्द्र निर्माण सेवा प्रालिः सन् २०२१ मा राजेन्द्र निर्माण सेवा प्रालिले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब २६ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब २१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् १९९९ मा स्थापना भएका सो कम्पनी क वर्गको निर्माण कम्पनी हो ।

डडेल्धुरामा दर्ता भएको यस कम्पनीको आम्दानी सन् २०२१ मा १.७३ प्रतिशतले बढेको जनाएको छ ।

बजारमा निर्माण व्यवसायीको बढ्दो प्रतिस्पर्धा छ । कुनै पनि आयोजनाको टेन्डरमा बढ्दो प्रतिस्पर्धा हुने भएकाले जुन कम्पनीले कम मूल्यमा टेन्डर दिन सक्छ । सोही कम्पनीले आयोजना हात पार्ने प्रचलन छ । साथै, कम्पनीको आम्दानी सरकारको नीति नियम तथा विकास खर्चमा पनि भर पर्ने भएकाले सोहीअनुसार आम्दानी हुने कम्पनीको भनाइ छ ।

भिम बहादुर साउद र उनको छोरा सुरेन्द्र साउदद्वारा सञ्चालित यस कम्पनीले विगत १३ वर्षदेखि सडक, पुर्वाधार, पुल, सिंचाइ र खानेपानीजस्ता आयोजनामा काम गर्दै आएका छन् ।

रमन कन्स्ट्रक्सन प्रालिः निर्माण व्यवसायी कम्पनीमध्ये सबैभन्दा ठूलो व्यवसायी कम्पनीको रुपमा परिचित रमन कन्स्ट्रक्सनले सन् २०२१ मा १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

क वर्गको निर्माण कम्पनी रहेको कम्पनीले सन् २०२० मा १ अर्ब ८० करोड २८ लाख रुपैयाँ आम्दानी गरेको थियो । सडक, पुल, खानेपानी तथा सरकारको अन्य विभिन्न आयोजना क्षेत्रमा निर्माण क्षेत्रमा काम गर्दै आएको कम्पनीमा बलराम महतो, रमन महतो र पवन महतोको क्रमशः २०, ४० र ४० प्रतिशत सेयर रहेको छ ।

सन् १९९० देखि निर्मण क्षेत्रमा काम गरी आम्दानी गर्दै आएको कम्पनीसँग लामो समयको अनुभव छ । सन् २०२१ को अक्टोबरसम्ममा ३९ अर्ब रुपैयाँ बराबरको ७३ वटा ठूला आयोजनाको ठेक्का कम्पनीसँग रहेको जनाएको छ ।
उक्त ठेक्कामध्ये ११ वटा कम्पनी एक्लैको आयोजना रहेको छ भने २२ अर्ब ७० करोड रुपैयाँको आयोजना अन्य ठेकेदारसँगको जोइन्ट भेन्चरको रुपमा रहेको उल्लेख छ ।

साथै, कम्पनीको एकलरुपमा रहेको ९ अर्ब ३० करोड रुपैयाँको आयोजना कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ । साथै, अझै १३ अर्ब ८० करोड रुपैयाँको आयोजनाको ठेक्का लिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले ४ वर्षको अवधिमा १९ अर्ब २० करोड रुपैयाँको ६३ वटा आयोजना सम्पन्न गरेको जनाएको छ । सन् २०२१ मा कम्पनीले आम्दानी गरेकोमध्ये ५० प्रतिशत अर्थात् २७ वटा आयोजनाबाट र २३ प्रतिशत अर्थात् १० वटा खानेपानी आयोजनाबाट आम्दानी भएको जनाएको छ ।

सन् २०२१ को अक्टोबरसम्ममा कार्यान्वयनमा रहेको ३० प्रतिशत आयोजना सडकको, ३० प्रतिशत खानेपानी, १६ प्रतिशत हाइड्रोपावर र अन्य आयोजना रहेको जनाएको छ ।

एमए कन्स्ट्रक्सन प्रालिः एमए कन्स्ट्रक्सन प्रालिले सन् २०२१ मा ५३ करोड १० लाख रुपैयाँमात्रै आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ८ करोड ६० लाख र सन् २०१९ मा ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् १९८३ मा धरानमा दर्ता भएको यस कम्पनी क वर्गको निर्माण कम्पनी हो । विभिन्न निर्माण आयोजनामा संलग्न कम्पनीको आम्दानी सन् २०२१ मा ५१ प्रतिशतले घटेको जनाएको छ । कम्पनीअनुसार सन् २०२० मा पोखरा फुटबल स्टेडियम आयोजनाबाट मात्रै ८० प्रतिशत आम्दानी गरेको थियो ।

तर, सन् २०२१ मा कम्पनीको आम्दानी कम भए पनि नाफामा भने सुधार भएको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२१ मा १५.९९ प्रतिशतले नाफा कमाएको छ । सन् २०२० मा १३.८३ प्रतिशतले नाफा कमाएको थियो ।

अनुप आचार्य प्रबन्ध निर्देशक र दिपक बराल निर्देशक रहेको एमए कम्पनीसँग सन् २०२२ को मार्च १९ सम्ममा ३ अर्ब ६१ करोड ८५ लाख रुपैयाँको कार्यान्वयन नगरिएको आयोजना बाँकी रहेको छ । जुन २०२१ मा आम्दानी गरेको ६.८१ गुणा ठूलो हो ।

कम्पनीअनुसार ८६.०६ प्रतिशत आयोजना हाइड्रोपावर र अन्य निर्माण आयोजनामा संलग्न छन् ।

रेनु कन्स्ट्रक्सन प्रालिः रेनु कन्स्ट्रक्सन प्रालिले सन् २०२१ मा ३९ अर्ब १० करोड रुपैयाँको आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा २९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीअनुसार सन् २०२१ मा ३४ प्रतिशतले आम्दानी बढेको छ ।

दुई दशकदेखि विद्युत् क्षेत्रमा काम गर्दै आएको प्रमोद महाशेठ कम्पनीका अध्यक्ष हुन् । घ वर्गअन्तर्गत रहेको कम्पनीले सन् २०२१ मा १०.५० प्रतिशतले नाफा कमाएको छ ।

नेपाल विद्युत प्राधिकरण र पालिकाहरूको ग्रामिण विद्युतीकरणमा संलग्न भई काम गर्दै आएका कम्पनीसँग सन् २०२१ को डिसेम्बरसम्ममा ६३ करोड ४० लाख रुपैयाँको कार्यान्वयन नभएको आयोजनाको ठेक्का रहेको जनाएको छ ।

सारस बिल्डर्स प्रालिः सन् २०१७ मा दर्ता भई काम शुरु गरेको सारस बिल्डर्स प्रालिले सन् २०२१ मा ८ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । ग वर्गको यस कम्पनीले निर्माण क्षेत्र, पुल, सडक र भवन निर्माण आयोजनामा काम गर्दै आएका छन् । कम्पनीले स्थानीय तह र अन्य कम्पनीसँग संयुक्त लगानीमा काम गर्दै आएको जनाएको छ । रमेशकुमार कुँवर विरेन्द्र कुमार कुँवरको ५०/५० प्रतिशत सेयर हिस्सा रहेको कम्पनीले विगत ३ वर्षदेखि लगातार १० प्रतिशतले बढी आम्दानी गर्दै आएको जनाएको छ ।

भुगोल इन्फ्रस्टक्चर कम्पनी प्रालिः भुगोल इन्फ्रस्टक्चर कम्पनी प्रालिले सन् २०२१ मा ३३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा १३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । सन् २०२० मा कम्पनीले ५१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

घ वर्गको यो निर्माण कम्पनीले पूर्वी क्षेत्रको हाइड्रोपावर आयोजनामा कायम गर्दै आएका छन् । भिमसेन भण्डारी निर्देशक तथा अध्यक्ष रहेको यस कम्पनीसँग सन् २०२२ को अप्रिलसम्ममा ३ अर्ब रुपैयाँको आयोजना ठेक्का पाएकोमा कार्यान्वयन गर्न बाँकी रहेको छ ।

ओसिस इन्जिनियर उण्ड बिल्डर्स प्रालिः नेपाल सरकारबाट क वर्गको इजाजत प्राप्त ओयसिस इन्जिनियर एण्ड बिल्डर्स प्रालिले सन् २०२१ मा ५१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ६८ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ मा ४५ करोड ७० लाख रुपैयाँको आम्दानी गरिसकेकेको छ । भवन निर्माण, सडक आयोजनामा काम गर्दै आएको कम्पनीमा ४ जनाको सेयर रहेको छ । कम्पनीमा अच्युतराज पाण्डेको ३५ प्रतिशत, राम चन्द्र तिमिस्सिनाको ३० प्रतिशत, भीमप्रसाद सुवेदीको ३० प्रतिशत र रुकमणी त्रीपाठी पाण्डेको ५ प्रतिशत सेयर रहेको छ ।

सन् १९८९ देखि निर्माण क्षेत्रमा काम गर्दै आएको कम्पनीसँग संयुक्त लगानीसहितको ८९ करोड २० लाख रुपैयाँको आयोजना कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ ।

ओम बुद्ध इन्टरनेशनल कन्स्ट्रक्सन प्रालिः ओम बुद्ध इन्टरनेशनल कन्स्ट्रक्सन प्रालिले सन् २०२१ मा १८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ८ करोमड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । दिपेश लामाको ६४ प्रतिशत सेयर रहेको यस कम्पनी क वर्गको निर्माण कम्पनी हो । सडक, भवन र सार्वजनिक आयोजनामा काम गर्दै आएको कम्पनीले कोरोनाको समय अर्थात् सन् २०२१ मा १११ प्रतिशतले आम्दानी बढेको जनाएको छ ।

त्यसैगरी, सन् जनवरी २०२२ सम्ममा कम्पनीको एकल र जोइन्ट भेन्चरको रुपमा ८३ करोड ८० लाख रुपैयाँको आयोजना कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ ।

रौतहट कन्स्ट्रक्सन प्रालिः रौतहट कन्स्ट्रक्सन प्रालिले सन् २०२१ मा ४८ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ३९ करोड ५८ लाख रुपैयाँको आम्दानी गरेको थियो । धर्मराज दाहालको २५ प्रतिशत सेयर रहेको यो कम्पनीमा ८ जनाको सेयरधनी छन् ।

सन् १९९७ देखि निर्माण क्षेत्रमा काम गर्दै आएको कम्पनी सार्वजनिक खरिद नियामवलीअनुसार क वर्ग इजाजतप्राप्त कम्पनी हो । कम्पनीअनुसार कम्पनीसँग अहिले ३ अर्ब ८४ करोड रुपैयाँको ठेक्का कार्यान्वयन हुन बाँकी रहेको छ ।
कम्पनीअनुसार सन् २०२० को मार्चसम्ममा रहेको आयोजनामध्ये सडकको हिस्सा ५६ प्रतिशत र १५ प्रतिशत भवन निर्माणको रहेको छ ।

त्यसैगरी, सन् २०२२ को जनवरीसम्ममा कम्पनीसँग ४ अर्ब ६० करोड रुपैयाँको आयोजना टेक्डर गर्न सक्ने क्षमता रहेको जनाएको छ ।

एसबीए निर्माण सेवा प्रालिः एसबीए निर्माण सेवा प्रालिले सन् २०२१ मा ३७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ५० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

विशेषगरी पुल निर्माणका क्षेत्रमा बढी संलग्न रहेको यस कम्पनीले सडक र भवन निर्माण क्षेत्रमा काम गर्दै आएका छन् । कम्पनीको ४९ प्रतिशत आयोजना पुलको रहेको छ । अजय पौडेलको शतप्रतिशत सेयर रहेको यस कम्पनी क वर्गअन्तर्गको निर्माण कम्पनी हो ।

कम्पनीको आम्दानी सन् २०२१ मा २६ प्रतिशतले घटेको जनाएको छ । तर, कम्पनीसँग सन् २०२२ को अप्रिलसम्ममा ४६ करोड ८० लाख रुपैयाँको आयोजना कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ ।

५९ अर्बको रेटिङ

सन् २०२१ मा १३ वटा निर्माण कम्पनीले १२ अर्ब आम्दानी गर्दा दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५९ अर्ब रुपैयाँको रेटिङ गराएका छन् । रेटिङ एजेन्सीअनुसार सन् २०२१ मा १३ वटा निर्माण कम्पनीले ५८ अर्ब ९६ करोढ २३ लाख रुपैयाँको रेटिङ गराएका हुन् ।

सन् २०२१ मा सबैभन्दा बढी टुन्डी कन्स्ट्रक्सनले कर्जाका लागि रेटिङ गराएको छ । सो कम्पनीले मात्रै १३ अर्ब ९३ करोड ८२ लाख रुपैयाँको बैंकिङ सुविधाको लागि रेटिङ गराएको हो ।

त्यसैगरी टुन्डीपछि रमन कन्स्ट्रक्सनले १० अर्ब ९४ करोड १४ लाख रुपैयाँको कर्जाका लागि रेटिङ गराएको छ ।

त्यस्तै, राजेन्द्र निर्माण सेवाले ४ अर्ब ४२ करोड ४० लाख रुपैयाँ, एमए कन्स्ट्रक्सनले ३ अर्ब, बानिया निर्माण सेवाले ८ अर्ब ७५ करोड ५० लाख, रेनु कन्स्ट्रक्सनले ८० करोड, हिमालय बिउल्डर्स एण्ड इन्जिनियरले ५५ करोड, सारस बिउल्डर्सले ८६ करोड ३५ लाख, भुगोल इन्फ्रास्ट्रक्चर कम्पनीले ६६ करोड १५ लाख, ओसिस इन्जिनियर एण्ड बिउल्डर्सले ३ अर्ब, ओम बुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले १ अर्ब ५० करोड, रौतहट कन्स्ट्रक्सनले ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँ र एसबीए निर्माण सेवाले २ अर्ब ९३ करोड ९७ लाख रुपैयाँको कर्जाका लागि रेटिङ गराएको छ ।


अरिष्मा मोक्तान