गोर्खाज फाइनान्सको सेयरमा ठूलो चलखेल भएको भन्दै राष्ट्र बैंकमा उजुरी



काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीको सेयरमा ठूलो चलखेल भन्दै राष्ट्र बैंकमा उजुरी पुगेको छ । कम्पनीका केही ठूला लगानीकर्ताले अनावश्यक हल्ला तथा झुटो तथ्यांक सार्वजनिक गर्दै सेयर मूल्य बढाएको उजुरी राष्ट्र बैंकमा परेको हो ।

यही साउन १६ गते हिराकाजी ढुंगेलले राष्ट्र बैंकमा कम्पनीका ठूला लगानीकर्ता र केही कर्मचारीहरु विरुद्ध उजुरी दिएका थिए । कारवाहीको माग गर्दै उनले कम्पनीका ठूला लगानीकर्ता दीपेन्द्र अग्रवालले कम्पनीकै केही उच्च व्यवस्थापनका कर्मचारीसँग मिलेर झुटो वित्तीय विवरण देखाई कम्पनी नाफामा रहेको र सोबाट लगानीकर्तालाई मनग्य लाभांश दिने जस्ता हल्ला फिँजाएर सेयर मूल्य बढाएको सो उजुरीमा उल्लेख छ ।

उजुरीकर्ता हिराकाजीले राष्ट्र बैंक गुनासो शाखामा दिएका उजुरीअनुसार दीपेन्द्र अग्रवाल र दीक्षान्त बानियाँले कम्पनीका सीइओ लालबहादुर थिंग, डीजीएम सन्तोष घिमिरे, बैंक म्यानेजर प्रविण अधिकारी, ऋण अधिकारी विनेश तामांङसँग मिलेर सेयरको भाउ बढाउने, कर्नरिङ गर्ने, राइट ब्याक नभएको पैसालाई राहत ब्याक भएको देखाएर, आइपीएस बढेको देखाएर सेयर भाउ बदछ भनेर भुटो हल्ला फिजाएको उल्लेख गरेको छ । जसले गर्दा सर्वसाधारणहरु नयाँ सेयर खरीदरबिक्री गर्नेहरुलाई ठूलो नोक्सानी भइरहेको उनको दावी छ ।

‘लाटा सोझा नजाने साधारण व्यक्तिहरुको सेयर बटुली दीपेन्द्र अग्रवाल, दीक्षान्त बानियाँ, सिइओ लालबहादुर थिंग, डीजीएम सन्तोष घिमिरेले गत फागुन र चैत्रदेखि ठूलो चलखेल गरिएको छ,’ उजुरीमा दावी गरिएको छ ।

उनीहरुले दीपेन्द्र अग्रवाल र दीक्षान्त बानियाँको अदृश्य सेयर पार्टनर र विजनेस पार्टनर बनाएको समेत दावी गरिएको छ । सोही काम गर्न बिना धितो ३ करोड भन्दा धेरै रकम व्यक्तिगत कर्जाका नाममा ताराचन्द्र बजगाईलाई अनधिकृत तरिकाले मालमा धितो रोक्का नै नगरी उपलब्ध गराए भन्ने शंका उनले गरेका छन् ।

कम्पनीबाट सर्वसाधारणले ऋण लिन पर्दा महिनौ दिन लगाउने तर सीइओ र डीजीएमलाई कमिसन पैसा दिएमा छिटो काम बन्नुका साथै, लिलाम गर्दा समेत सीइओ र डीजीएमसँग मिलेमा मात्र लिलाम सकार्न सकिने उजुरीकर्ताले दावी गरेका छन् ।

उजुरीकर्ता हिराकाजी श्रेष्ठले सो सम्बन्धी आवश्यक प्रमाणसमेत माग भएमा पेश गर्न सकिने बताएका छन् । कम्पनीले वास्तविक खराब कर्जा अनुपात (एनपीएल) ३५ प्रतिशतभन्दा धेरै भएको तर कम्पनीले भने न्यून एनपीएल न्यून देखाएर रिपोर्ट प्रकाशित गरेका उनको दावी छ ।

उजुरीमा दीपेन्द्र अग्रवालले सामाजिक सञ्जाल तथा कल्व हाउसमा समेत, ‘हामीसंग सिइओ, डीजीएमसँग राम्रो सम्पर्क छ, सल्लाह हुन्छ गोर्खाज फाइनान्सको सेयर २००० रुपैयाँ नाघ्छ,’ भनेर भन्ने गरेको उल्लेख छ ।

गोर्खा विकास बैंक र काठमाडौं फाइनान्स मर्जर भएर गोर्खाज फाइनान्स भएको ८ वर्ष भएसक्दा समेत लगानीकर्ताले लाभांश पाउन सकेका छैनन् ।

यसबाहेक उजुरीकर्ता हिरालाल श्रेष्ठले कम्पनीका केही उच्च व्यवस्थापनका कर्मचारीहरुले घरभाडामा समेत कमिसन लिने गरेको उल्लेख गरेका छन् ।

ब्याज आम्दानी घट्दा सेयर ट्रेडिङले बढायो गोर्खाज फाइनान्सको नाफा

गत आर्थिक वर्षमा फाइनान्सले ८ अर्ब १५ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ५६ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले निक्षेप १७.०७ प्रतिशत र कर्जा प्रवाह ६.८५ प्रतिशतले वृद्धि गरेको हो ।

जसबाट कम्पनीले खुद ब्याज आम्दानी भने २१ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलना २९.१९ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको नयाँ व्यवसाय विकास गरेर गरी आउने आम्दानीभन्दा अन्य क्षेत्रको लगानीबाट हुने आम्दानी बढ्दा नै खुद नाफा बढेको प्रष्ट हुन्छ ।

सर्वसाधारणबाट निक्षेप लिएर त्यसमा केही प्रतिशत स्प्रेडदर कायम गरी कर्जा प्रवाह गरे वापतको आम्दानी घटेपनि कम्पनीले अन्य अन्य सञ्चालन आम्दानी भने बढाएको छ । सो अवधिमा कम्पनीले २ हजार ४६.९६ प्रतिशत अर्थात् ९ करोड ३१ लाख ६२ हजार रुपैयाँले अन्य सञ्चालन आम्दानी अघिल्लो आवको तुलनामा थप गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीबाहेक अन्य प्रकारका कारोबारबाट गरेको आम्दानीलाई अन्य सञ्चालन आम्दानी भन्निछ । जसमा बैंक तथा वित्तीय संस्थाले गरेको विदेशी विनिमयको पुनरमूल्यांकन आम्दानी, धितोपत्र अर्थात् सेयर बजारको दोस्रो बजारबाट गरिएको सेयर खरिद बिक्रीको नाफा नोक्सानका साथै यस वापत प्राप्त नगद लाभांश र लगानी सम्पतीको फेयर भेल्लुको नाफा नोक्सानी समावेश गरिएको हुन्छ ।

साथै, लगानी सम्पतीको बिक्रीमा हुने नाफा नोक्सान, सञ्चालित लिज आम्दानी र सुन चाँदीको बिक्रीमा हुने नाफा नोक्सान समावेश अन्य सञ्चालन आम्दानीमा गरिएको हुन्छ ।

यसरी, कम्पनीले खुद ब्याज आम्दानी घटाएपनि अन्य सञ्चालन आम्दानी बढाउँदा खुद नाफा ३ सय ५३.९८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आवमा ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा नकारात्मक रहेको मा कम्पनीले गत आवमा २० करोड १८ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

सो अवधिमा कम्पनीले खुद सञ्चालन आम्दानी समेत ४ सय ८६.९३ प्रतिशत अर्थात् ४७ करोड ८६ लाख रुपैयाँले थप गरी ५७ करोड ६९ लाख रुपैयाँ पुर्याउको छ ।

कम्पनीले गत आवमा ४० करोड ७ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ ।

यस्तै, सो अवधिमा कम्पनीको खराबक कर्जा अनुपात अघिल्लो आवको तुलनामा ५.१७ प्रतिशतले घटेर ३.६५ प्रतिशत कायम भएको छ । साथै, सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २३.२६ प्रतिशत, पीइ अनुपात ५३.७४ प्रतिशत, प्रतिसेयर नेटवर्थ २ सय १ रुपैयाँ ४४ पैसा र प्रतिसेयर कुल सम्पतीमूल्य १ हजार १ सय ९१ रुपैयाँ ९६ पैसा रहेको छ ।


क्लिकमान्डु