घरजग्गा कारोबार घट्यो तर राजश्व भने बढ्यो, कास्कीलाई चितवनले उछिन्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पुस महिनामा घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गरेकोमा माघ महिनामा भने घरजग्गाको कारोबार घटेको छ ।

भुमि, व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस महिनाको तुलनामा माघ महिनामा कारोबार घटेको हो ।

कोरोना महामारीले अधिकांश व्यापार व्यवसाय बन्द भएको अवस्थामा विभिन्न व्यापारी तथा व्यवसायीको लगानी घरजग्गामा थुप्रिएको घरजग्गा कारोबार गर्ने व्यवसायीहरू बताउँछन् ।

हरेक व्यवसायीको कारोबार गरेको मूल्यमा घटबढ भइरहेता पनि घरजग्गामा भने दिन प्रतिदिन बढ्दै गएको व्यवसायीहरूको भनाइ छ ।

साथै, घरजग्गा कारोबार पनि सोही अनुसार बढिरहेको व्यवसायीहरू बताउँछन् । यसले माघ महिनामा केही मात्राले कारोबार घटेता पनि राजश्व संकलन भने बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७७७८ को पुस महिनामा देशभरका मालपोत तथा भूमिसुधार कार्यलयबाट २ लाख १४ हजार ४६० घरजग्गाको कारोबार गरेर नयाँ रेकर्ड कायम गरेको थियो ।

विभागको तथ्याङ्क अनुसार पुस महिनामा कारोबारले नयाँ रेकर्ड कायम गर्दा देशभरको मालपोत कार्यालयबाट ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

तर, चालु आवको माघ महिनामा घरजग्गाको कारोबार घटेता पनि राजश्व भने पुस महिनाको भन्दा बढी संकलन भएको विभागको तथ्याङ्कले देखाउँछ ।

माघ महिनामा देशभरका भूमि सुधार तथा मालपोत कार्यालयबाट २ लाख ११ हजार ९०८ घरजग्गाको कारोबार भएको छ । जुन पुस महिनाको तुलनामा २ हजार ५ सय ५२ कमी हो ।

देशभरका विभिन्न १०८ वटा भूमिसुधार तथा मालपोत कार्यलयबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, प्रतिलिपिलगायत अन्य विभिन्न कार्य गरी उक्त कारोबार भएको विभागको तथ्याङ्कले देखाउँदछ ।

देशभर १ सय २६ वटा मालपोत कार्यालय छन् । त्यसमध्ये १ सय ८ कार्यालयमा मात्रै अनलाईन प्रणाली सञ्चालनमा रहेका छन् ।

त्यस्तै, अनलाईन प्रणाली लागू नभएका बाँकी १८ वटा कार्यालयहरूको कारोबार यसमा समावेश गरिएको छैन ।  तर, यी कार्यालयहरूबाट पनि अनलाइन प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेको विभागले जनाएको छ ।

साथै, हाल १०८ वटा मालपोत कार्यालयमा भू-सेवा सञ्चालनको लागि तीब्र रुपमा तालिम तथा छलफलको कार्यहरु भइरहेको विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन् । उनका अनुसार उक्त भू-सेवा केन्द्र सञ्चालन आएसँगै कार्यालयबाट सहज, छिटो र छरितो तरिकाले कामहरु गर्नसक्ने बताए ।

यस्तै, देशभरका मालपोत कार्यालयबाट माघ महिनामा ७६ हजार २ सय ८८ लिखित पारित, ५ हजार २ सय ९६ नामसारी, ५ हजार १ सय ६१ संशोधन, ६२ हजार १ सय १६ रोक्का र ३८ हजार ३ सय २० फुकुवा गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

यस्तै विभागको तथ्याङ्क अनुसार ७४ वटा अपार्टमेन्टको लिखित पारित, ४१ जग्गा दर्ता, १६ सय ३६ दाखिला खारेज गरेको छ ।

घरजग्गा कारोबार गर्नेमा इनरुवा अगाडि

विभागले सर्वाजनिक गरेको तथ्याङ्क अनुसार घरजग्गा कारोबारमा सँधै अगाडि इनरुवा मालपोत कार्यालय रहेको छ ।

चालु आवको माघ महिनामा सुनसरीको इनरुवा भूमि सुधार तथा मालपोत कार्यालयले ८ हजार ६ सय १५ घरजग्गाको कारोबार गरेको छ । यस्तै गत पुस महिनामा ८ हजार ४ सय ३८ घरजग्गाको कारोबार गरेको थियो ।

उक्त कार्यालयले माघमा मात्रै ३ हजार ४ सय ५७ लिखित पारित, १७५ घरजग्गाको नामसारी, २५ सय ४४ को रोक्का र १७ सय १७ घरजग्गाको फुकुवा गरेको छ ।
त्यस्तै, गत पुस त्यसैगरी, भद्रपुर झापाले ८ हजार ५ सय ६४ कारोबार गरेको मध्येमा २९ सय ८ लिखित पारित, २ सय १९ संशोधन, २६ सय ७० रोक्का र २ हजार ७७ फुकुवा गरेको छ ।

साथै, अन्य मालपोत कार्यालयमा बेलाबारी-मोरङ, लगनखेल, भक्तपुरलगायत अन्य उपत्यका बाहिर जिल्ला रहेका छन् । यस्तै उपत्यकाबाहेक बाहिरको जिल्ला बेलाबारी-मोरङले ७ हजार ४ सय २३ घरगग्गाको कारोबार गरेको छ ।

अन्य जिल्लामा रहेको मालपोत कार्यालय नेपालगञ्ज-बाँकेले ५ हजार ६ सय, चितवनले ५ हजार ४ सय र विराटनगरले ५ हजार २ सय १८ घरजग्गाको कारोबार गरेको छ ।

यस्तै उपत्यकामा अधिकतम कारोबार गरेकोमा लगनखेल मालपोत कार्यालय रहेको छ । लगनखेलले एक महिनामा ६ हजार ५४ घरजग्गाको कारोबार गरेको छ ।
पुस मसान्तसम्ममा लगनखेलले ५ हजार ८ सय ९६ घरजग्गाको कारोबार गरेको थियो । उक्त कारोबारको तुलना गर्दा लगनखेलमा घरजग्गाको कारोबार बढेको देखिन्छ ।

लगनखेलले माघ महिनामा २३ सय २१ लिखित पारित, १३२ नामसारी, १८४ संशोधन, १५ यस ४५ रोक्का र १३ सय ५४ फुकुवा गरेको छ ।

त्यस्तै भक्तपुरले माघ महिनामा ५ हजार ९ सय ५५ घरजग्गाको कारोबार गरेको छ । भक्तपुरले २१ सय ९१ लिखित पारित, १४५ नामसारी, २ सय २१ संशोधन, १४ सय ८८ रोक्का र ११ सय ८८ फुकुवा गरेको छ ।

त्यस्तै, उपत्यकामा काठमाडौंस्थित रहेको कलंकी मालपोत कार्यालयले ४ हजार ७ सय ३७, चावहिल मालपोत कार्यालयले ३२ सय ५६, साँखुले २१ सय ७०, मनमैजुले २१ सय २१ घरजग्गाको कारोबार गरेको छ ।

साढे ६ अर्ब बढी राजस्व संकलन

विभागले माघ महिनामा पुसको भन्दा करिब २५ सयले घरजग्गाको कारोबार कम गरेता पनि राजश्व भने बढी संकलन गर्न सफल भएको छ ।

विभागले पुस महिनामा देशभरको मालपोत कार्यालयबाट ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

तर, माघ महिनामा विभागले देशभरका मालपोत कार्यालयबाट विभागले ६ अर्ब ७३ करोड २७ लाख ८० हजार राजस्व संकलन गरेको छ । जुन पुस महिनाको तुलनामा ७ करोड ६४ लाख २५ हजारले कमी हो ।

विभागका महानिर्देशक पौडेलका अनुसार कतिले कारोबार भयो भन्दा पनि कुन जिल्ला अर्थात् कुन स्थानमा बढी कारोबार भयो भन्नेले राजश्व संकलनमा फरक पर्ने बताए ।

‘कुनै पनि दुर्गम तथा पहाडी इलाकामा बढी कारोबार भएको अवस्थामा राजश्व संकलन कम हुन्छ तर शहरी इलाकामा कारोबार कम भएता पनि राजश्व संकलन बढी हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘तराई भेग तथा उपत्यकालगायत अन्य शहरी इलाकामा बढी कारोबार भएकाले माघ महिनामा समग्रमा कारोबार कम तर राजश्व बढी उठेको हो ।’

विभागले देशभरका भूमि सुधार तथा मालपोत कार्यलयबाट सेवा कर, बागमति, रजिष्ट्रेशन दस्तुर, छुट, सेवा सुविधा शुल्क, पुँजीगत लाभ कर, रिकभर छुट, बिलम्ब शुल्क, नगर पूर्वाधार विकास, मुख्यमन्त्री स्वच्छता अभियान गरेवापत साढे ६ अर्ब रकम संकलन गरेको हो ।

जसमा सेवा करवापत ३९ करोड ४३ लाख ९२ हजार, बागमतिबाट २० करोड ७४ लाख १२ हजार, रजिष्ट्रेसन दस्तुरबाट ३ अर्ब ७६ करोड ८८ लाख, छुटबाट ५६ करोड ८९ लाख र पूजीँगत लाभ करबाट १ अर्ब ७० करोड ८४ लाख ४० हजार, मुख्यमन्त्री स्वछता अभियान कोषबाट ४ करोड ४७ लाख ५ हजार राजश्व संकलन गरेको छ ।

लगनखेलबाट मात्रै ६४ करोड राजश्व संकलन

माघ महिनामा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयले राजश्व संकलन गरेको छ । विगतको दिनमा पनि सबैभन्दा बढी राजश्व संकलन गर्दै आएको लगनखेलले पुस महिनाको तुलनामा माघ महिनामा कम राजश्व संकलन गरेता पनि राजश्व संकलनमा अगाडि नै रहेको छ । जसमा लगनखेल कार्यालयले ६४ करोड ११ लाख ७५ हजार राजश्व संकलन गरेको छ । गत पुस महिनामा लगनखेलले ७२ करोड ५ लाख ५२ हजार राजश्व संकलन गर्न सफल भएको थियो । जुन माघ महिनाको तुलनामा ८ करोडले बढी हो ।

लगनखेल मालपोत कार्यालयले सेवाकरवापत २ करोड १६ लाख ९६ हजार, बागमतीबाट ४ करोड ८९ लाख २२ हजार, रजिष्ट्रेसन दस्तुर ४३ करोड ३७ लाख ७७ हजारलगायत अन्य विभिन्न कारोबारबाट उक्त राजश्व संकलन गर्न सफल भएको छ ।

त्यसैगरी काठमाडौं कलंकी मालपोत कार्यालयबाट ४३ करोड ७६ लाख ६६ हजार, भक्तपुर कार्यालयबाट ४१ करोड २३ लाख ४२ हजार, डिल्लिबजार कार्यालयबाट ३८ करोड ८४ लाख ७७ हजार, चाबहिल कार्यालयबाट ३३ करोड ७९ लाख ३४ हजार राजश्व संकलन गरेको छ ।

उपत्यकाबाहिर कास्कीलाई चितवनले उछिन्यो

पुस महिनामा उपत्यका बाहिर राजश्व संकलन गर्नेमा कास्की अगाडि थियो ।

तर, माघ महिनामा भने कास्कीलाई उछिनेर मालपोत कार्यालय चितवनले बढी राजश्व संकलन गरेको छ । पुसमा कास्की मालपोत कार्यालयले १६ करोड ४३ लाख ८१ हजार राजश्व संकलन गरेको थियो ।

तर, माघ महिनामा कास्कीलाई उछिनिएर चितवन कार्यालयले १७ करोड ८७ लाख ५६ हजार राजश्व संकलन गरेको छ । त्यस्तै, कास्की मालपोत कार्यालयले १६ करोड ९१ लाख २३ हजार, काभ्रेपलाञ्चोकले १३ करोड ६३ लाख १२ हजार र विराटनगर मालपोत कार्यालयले १३ करोड ३९ लाख १७ हजार राजश्व संकलन गरेको छ ।

साथै, कारोबारमा सँधै अगाडि रहेको इनरुवाले भने कारोबार अनुसारको राजश्व संकलन गर्न सकेको छैन । इनरुवाले माघ महिनामा १२ करोड ७१ लाख ३८ हजार राजश्व संकलन गरेको छ । त्यसैगरी पुस महिनामा इनरुवाले १५ करोड ५१ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।


क्लिकमान्डु