मन्त्री यादवले भने- खाना पकाउने ग्यासमा छिट्टै सहुलियत दिइन्छ



काठमाडौं- समय समयमा खान पकाउने ग्यासमा सहुलियत दिने विषयले चर्चा पाएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सोही विषयलाई पुनः चर्चामा ल्याएका छन् ।

आवश्यक तयारी नगरीकन खाना पकाउने ग्यासमा सहुलियत दिने कुरा उनले चर्चामा ल्याएका छन् ।

उनले भने, ‘सरकारले एलपी ग्यास पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ ।’

मन्त्री यादवले न्यून आय भएका उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारले छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भइरहेको बताएका हुन् ।

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले आर्थिकरुपले सम्पन्न नागरिकलाई एलपी ग्यासको मूल्य बढाएर भएपनि न्यून आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भइरहेको पनि स्पष्ट पारे ।

तर कुन निकायसँग कस्तो छलफल भएको हो भन्ने बारेमा उनले बताएनन् ।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानूनी जटिलता थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको दाबी गरे ।

उनले व्यवसायीसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको बताए ।


क्लिकमान्डु